Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन तोलामा ३ हजार बढ्दा बजार सुनसान

नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामै ३ हजार रुपैयाँले बढेको हो । आज सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।

बिहिबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम थियो। आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेपछि यसको असर नेपाली बजारमा परेको हो । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ आउँदो सेप्टेम्बरमा ब्याजदर २५ देखि ५० विन्दुसम्म घट्ने लगानीकर्ताका आँकलनका कारण सुनमा लगानी बढाउँदा नयाँ रेकर्ड कायम भएको महासंघले जनाएको छ ।

विश्व बजारमा डलरको भाउमा उतारचढाव आइरहेको छ । फेडरल रिजर्भले ब्याजदर ५।२५ देखि ५।५० प्रतिशत कायम गरेको छ । यस्तै आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पले डलरलाई विश्वकै सञ्चिती मुद्राको रुपमा राख्ने घोषणापत्रमा उल्लेख गरेका छन् । आगामी सन् २०२७ मा सुनको भाउ बढेर प्रति औंस ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छ ।