Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरकारका सबै मन्त्रीलाई प्रधानमन्त्रीले बोलाए सिंहदरबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै मन्त्रीलाई सिंहदरबार बोलाएका छन् । आज दिउँसो साढे २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदबारमा बोलाएका छन् ।

जनचाहना अनुसार काम गर्ने भन्दै गत असार ३० गते एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनेको थियो । तर, २ महिना पुग्न लाग्दा पनि मन्त्रीहरुको काम चित्त बुझ्दो नभएको भन्दै जनस्तरबाट आलोचना भइरहेको बेला उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन् ।

अधिकांश मन्त्रीहरु काममा भन्दा बढी विवादमा पर्दै आएका छन् । आज मन्त्रीहरुले गरेको प्रगति र आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा प्रधानमन्त्रीले मन्त्रीहरुसँग विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव प्रेमप्रसाद आचार्यले जानकारी दिए ।

आज मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।