Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वडाध्यक्ष यादवको मृत्युको अनुसन्धान गर्न प्रचण्डको माग

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् । दिवङ्गत यादवको स्मृतिमा आज महोत्तरीमा भएको श्रद्धाञ्जलीसभामा उनले यस्तो आग्रह गरेका हुन् । वडाध्यक्ष यादवको शव यही भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सीमानामा फेलापरेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । 

वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म आएका थिए ।  अध्यक्ष दाहालले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने जानकारी दिँदै त्यसमा लापर्वाही नगर्न अनुरोध गर्नुभयो । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले स्थानीयले निरन्तर आवाज उठाइरहनुपर्ने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष दाहालले यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई निर्देशन दिए । उनले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । 

मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताइन् । उनले श्रीमानको निधनको सत्यतथ्य पत्ता लागे आफूहरुलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अध्यक्ष दाहालसँग अनुरोध गरिन् । स्वर्गीय यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र स्थानीयको उपस्थिति थियो ।