Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी

पूर्व मुख्यमन्त्री केदार कार्कीले मंगलबार अनसन शुरु गरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार र कांग्रेसको एक समूह आमने सामने भएका छन् । कार्कीले आफ्नो सरकारले गरेका निर्णयहरु कार्यान्वयन नगरेको भन्दै अनसन बस्न शुरु गर्ने चेतावनी दिएपछि स्थानीय प्रशासनले मंगलबारदेखि नै निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा जारी गरेपनि अपराहन्न ४ बजेदेखि अनसन थालेका कार्कीलाई राति प्रहरीले उनलाई सो स्थलबाट उठाएर उनको घरमा लगेर छोडेको थियो । सो समयमा अनसन स्थल विराटनगरस्थित देवकोटा चोक तनाबग्रस्त भएको थियो । कार्कीलाई नियन्त्रणमा लिनेक्रममा उनका समर्थक र सुरक्षाकर्मीबिच केहीबेर झडप समेत भएको थियो । प्रहरीले घरमा छोडेपछि कार्की अर्को गाडीमा देवकोटा चोकमा फर्केर फेरी अनसन शुरु गरेका थिए ।

कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनसन शुरु गरेका हुन् ।