Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

‘डिभोर्स’ गरेकी श्रीमतीको जिम्मा लिन नसक्ने धनराज गुरुङको प्रष्टोक्ति

‘सहकारी ठगीको आरोपबारे ममाथि संसदीय छानबिन होस्’

सत्तारुढ नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आफूमाथि लागेका आरोपका विषयमा संसदीय छानबिन गर्न माग गरेका छन् । आज मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उपसभापति गुरुङले आफूले निष्ठा र नैतिकताको राजनीतिक गर्ने भएकाले सहकारी ठगीको आरोपबारे छानबिन गर्न सभामुख र गृहमन्त्रीलाई आग्रह गरेका हुन् । 

मितेरी सहकारीको रकम हिनामिनाको विषयमा पूर्व श्रीमती ज्योती गुरुङसँग आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको उनले बताएका छन् । ललितपुरस्थित मितेरी सहकारी संस्थाको १५ करोड रकम हिनामिनामा नाम जोडिएपछि आज संसद बैठकमा स्पष्टीकरण दिँदै उनले त्यसको खण्डन गरेका हुन् । उपसभापति गुरुङले पूर्वपत्नीले गरेको बदमासीको जिम्मा आफूले नलिने समेत बताए ।

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले पूर्वमन्त्री समेत रहेका धनराज र उनकी पत्नी ज्योतीले पैसा फिर्ता गर्ने सहमति गरे पनि अहिलेसम्म फिर्ता नगरेको भन्दै संसदीय विशेष समितिमा बयान दिएका थिए । सहकारीको प्रवन्ध निर्देशक रहेकी ज्योती र धनराजको सम्बन्ध बिच्छेद भइसकेको बताइएको छ । उपसभापति गुरुङले व्यापार व्यवसायमा श्रीमान–श्रीमतीमा एउटा जोडिँदा अर्कोलाई जोडेर हेरिने सामान्य रहेको टिप्पणी गरेका छन् । ‘पूर्व श्रीमतीलाई जोड्न व्यवहारिक कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनु पर्छ । विवाह गर्नु अपराध होइन । मिल्न नसक्दा डिभोर्स गर्नु पनि अपराध होइन,’ उनले भने ।

उपसभापति गुरुङले परिवारमा दरार आएपछि १० वर्षको बच्चा हुर्काउन पर्दाको पीडा पनि संसदमा पोखे । नेल्सन मण्डेलाको श्रीमतीसँग सम्बन्ध विच्छेद भएको र बिनी मण्डेलाका मुद्दाहरू आए पनि नेल्सन मण्डेलामाथि प्रश्न नआएको उनले बताए । उनले सहकारीको प्रबन्ध निर्देशक ज्योतीसँग २९ फागुन २०७६ मा गरेको सम्बन्धविच्छेद नक्कली प्रमाणित गर्न पनि चुनौती दिए । उनले आफू प्रमाण लुकाउने जिम्मेवार पद (गृहमन्त्री) मा नरहेको र संसदीय छानबिन गर्नुपर्छ भने पनि तयार रहेको बताए ।