Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कोशीका पूर्व मुख्यमन्त्री कार्की आजदेखि अनसन बस्दै

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले आज मंगलबारदेखि अनसन शुरु गर्ने भएका छन् । वर्तमान सरकारले आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम कटौती गरेको भन्दै उनी आमरण अनसन लागेका हुन् ।

उनले गत आइतबार प्रदेश सभाबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ४८ घण्टे ध्यानाकर्षण पत्र पठाएका थिए । कार्कीले आज दिउँसो ४ बजेदेखि आमरण अनसन बस्न लागेका हुन् । उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनसन बस्ने तयारी गरेका छन् । आफ्नो माग पूरा नभएसम्म अनसनबाट पछि नहट्ने उनले बताएका छन् ।

उनी आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनसनमा बस्न लागेका हुन् ।