नेकपा एमालेले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद सूर्य प्रसाद ढकालले सदनभित्र र सदन बाहिर उपसभामुखको विषय उठेकाले राजीनामा दिनुपर्ने माग गरे ।
‘नैतिकताको कुरा उठेको छ । पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ । उपसभामुखले राजीनामा दिन माग गर्दछु,’ उनले भने ।
यस्तै, प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले उपसभामुख इन्दिरा रानामगरमाथि महाभियोग लगाउने ‘तयारी’को विरोध गरेको छ ।
बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो दलले त्यसको प्रतिवाद गर्ने बताए । “माननीय उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा आएको मिडियामा छ्याछ्याप्ती देखियो । यदि, यो सत्य हो भने हाम्रो दल तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ,” उनले भने ।
उनले यस विषयमा स्पष्ट पार्न सरकारसँग माग पनि गरे । माओवादीकै अर्का सांसद हितराज पाण्डेले महाभियोग लगाउने गलत कदम नचाल्न आग्रह गरे । “गलत कदम नचालियोस्, सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु,” उनले भने ।