Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’ को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गरेका छन् । 

ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत वातावरण संस्था ‘युएनइपी’ को संयुक्त आयोजनामा हुने सम्मेलन यही भदौ २७ र २८ गतेसम्म हुने मन्त्रालयले जनाएको छ । ‘दिगो उत्पादन तथा प्रयोग र चलायमान अर्थतन्त्र अवधारणा’ विषयक ज्ञानलाई सम्बोधन गरी समझदारी तथा अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ हुन लागेको सम्मेलनलाई मन्त्री ठकुरीले भदौ २८ गते सम्बोधन गर्ने तालिका छ ।

न्यायोचित तथा दिगो भविष्य बनाउनका लागि जलवायु परिवर्तन जस्ता संक्रमण अवस्थालाई गतिशील गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज र सम्बन्धित सरोकारवालाबीच सहकार्य र समझदारीको विकास गर्ने सम्मेलनको उद्देश्य रहेको छ । मन्त्री ठकुरी भदौ ३० गते स्वदेश फर्कने छन् ।