Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रतिक्रान्तिका हर्कत हुँदैछन्, फेरि एउटा संघर्ष आवश्यकः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिका हर्कतविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’ को २५ औं स्मृति दिवसमा उनले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासविरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताएका हुन् ।

क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसरत भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताएका छन् । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको व्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’, प्रचण्डले भने, ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसविरुद्ध संघर्षको संकल्प  नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’

आफूहरु शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रुपमा जारी रहने बताएको उनले दाबी गरे । जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरुलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उनको भनाइ थियो ।

‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौँ, गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् । हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नुपर्छ । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं । अब राजनीतिक त्यतै जाँदैछ,’ प्रचण्डले भने, ‘दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनै पर्छ ।’ नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य बन्ने उनको तर्क छ ।