Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

४०–५० करोडमाथिका भ्रष्टाचारमा ठूला दलहरूबीच राष्ट्रिय सहमति हुन्छः घनश्याम भूसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले ४०–५० करोडमाथिका भ्रष्टाचार मुद्दामा राष्ट्रिय सहमति हुने गरेको टिप्पणी गरेका छन् । आज शनिबार हरि रोकाद्वारा लिखित पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भूसालले ४०-५० करोडमाथिका कुनै पनि भ्रष्टाचारका मुद्दामा दलहरूका बीचमा राष्ट्रिय सहमति हुने गरेको बताए ।

उनले ठूला भ्रष्टाचारहरू एमाले, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरूको संलग्नता बिना नहुने बताए । उनले ठूला दलहरूका बीचमा राष्ट्रिय सहमति गरेर भ्रष्टाचार हुने गरेको भन्दै राजनीति, पार्टी र मुलुक नै सकिराखेका बताए । उनले राजनीतिक दल र दलका नेता भ्रष्टाचारमुक्त भएपछि मात्रै समाजवादतिर जान सकिने बताए । अहिले दलहरुले नै घुस खाने मान्छे उत्पादन गरिरहेको भन्दै भूसालले पार्टीहरुले त्यस्ता मान्छे उत्पादन नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने बताए ।

उनले भने, ‘कृषिमै पनि आत्मनिर्भर हुने हो भने त्यस्तो पार्टी निर्माण गर्नुपर्छ जहाँ भित्रबाट भ्रष्टहरु जन्मिदैनन् । भ्रष्टहरु पालित, पोषित हुँदैनन् । तिनीहरु संरक्षित हुँदैनन्, नेता बन्दैनन् ।’ महासचिव भूसालले नेपालमा लोकप्रियतावादले समाजवादतर्फको यात्रा रोकेको जिकिर गरे । समाजवादको भाष्यलाई सबैभन्दा बढी प्रधानमन्त्री केपी ओलीले बिगारेको उनको आरोप छ ।

‘चुच्चे रेल आउँछ । काठमाडौंमा दुई वर्षमा आउँछ । अर्को वर्ष बेनी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर चुच्चे रेलसँग, टावरहरु सँग, के सँग भाष्य बिगारिदिनु भयो उहाँले । प्रधानमन्त्री भनेको मुलुकको सबभन्दा ठूलो शिक्षक हो’ महासचिव भूसालले भने ।