Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्नः जनयुद्ध महान थियो भने किन छोडेर आएको?

‘सरकारको विरोध गर्नु केही नगरी बहादुरी प्राप्त गर्नु जस्तो भएको छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ‘जनयुद्ध महान थियो भने किन छोडेर आएको’ भन्दै प्रश्न गरेका छन् ।

आज ९शनिबार० काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनु पर्‍यो शान्ति प्रक्रियामा? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नु पर्दथ्यो ।’ 

PRO_KTM_KP_OLI_7R9A2853.jpg

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबारको एक कार्यक्रममा ओलीलाई लक्षित गर्दै सरकारमा बसेका मान्छेहरुले नै ‘जनयुद्धलाई हिंसा भन्ने दुस्साहस गरेको’ भन्दै त्यसको भण्डाफोरमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।प्रधानमन्त्री ओलीले यति बेला अलिकति मनलाई दह्रो बनाएर कठिनाइ सामना गर्दै देशलाई अघि बढाउनु पर्ने बताएका छन् । आर्थिक रूपमा कमजोर, सामाजिक रूपमा विश्रृङ्खलित र राजनीतिक रूपमा भाँडभैलो हुँदा देश पछाडि पर्ने ओलीले बताए । अहिले सरकारको विरुद्ध नियोजित र प्रायोजित हल्लाहरू थुप्रै चलाइएको ओलीले बताए । ‘सरकारको विरोध भनेको केही पनि नगरी प्राप्त हुने बहादुरी हो, अहिले मान्छेहरू यस्तो भएका छन्, हाम्रो संस्कृति, सभ्यता, सामाजिक मूल्य, समाजको विशेषतालाई कमजोर पार्दै लगिएको छ’, उनले भने । 

नेपाली समाज आस्था, विश्वास, सामाजिक, धार्मिक र नैतिक बन्धनमा बाँधिएर आएको ओलीले बताउनुभयो । नेपाली समाज कानुनमा मात्र होइन, बाचा, नैतिकता र इमानताको बन्धनमा बाँधिएको ओलीले स्पष्ट पारे । देशलाई हरेक हिसाबले समृद्ध बनाउने सङ्कल्प सरकारले लिएको ओलीले बताए । आर्थिक समृद्धिसँगै सामाजिक र सांस्कृतिक समृद्धि जरुरी रहेको ओलीले बताए । नत्र त्यो खोक्रो हुने उनको धारणा  छ । ‘हामी समृद्ध नेपाल बनाउन चाहन्छौँ, हरेक हिसाबले समृद्ध’, ओलीले भने । 

आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् हुनु नहुनेमा उनले जोड दिए । हरेक नागरिकका न्यायोचित इच्छा र आकांक्षा सम्बोधन हुनुपर्ने ओलीको भनाइ छ । ओलीले देशको अर्थतन्त्र माथि उठाउन सबैले मिलेर काम गर्नुपर्ने बताए । त्यसो गर्दा देश र सबै देशवासीको अवस्था माथि उठ्ने उनले दाबी गरे । सबैको साझा प्रयासले राजश्व असुलीलगायत देशको आर्थिक अवस्था बिस्तारै माथि उठ्न लागेको ओलीले बताए । यो सबैको प्रयासबाट सम्भव भएको ओलीले प्रष्ट पारे । 

PRO_KTM_KP_OLI_7R9A2858.jpg

ओलीले कर्मचारी राष्ट्रका मेरुदण्ड भएका बताए । राम्रा वा नराम्रा जुनसुकै काममा कर्मचारीको साथ नलिई राजनीतिक मानिसहरूले केही गर्न नसक्ने ओलीले बताए । ‘तपाईहरूलाई प्रयोग नगरी हामी त केही गर्नै सक्दैनौँ, भ्रष्टाचार गर्न पनि तपाईहरूलाई प्रयोग गर्नुपर्छ, तपाईहरू भ्रष्टाचारमा किन सहभागी हुने, त्यस्तो कुकर्ममा सहभागी नहुनुस’, ओलीले भने । ओलीले मान्छेलाई एकछिन अलमल्याएर देश नबन्ने बताए । देश बनाउन लामो सोच हुनुपर्ने उनले स्पष्ट पारे । अहिले देश र लोकतन्त्रको लागि योगदान गरेका दुईवटा पार्टीको सरकार भएकोले सकारलाई काम गर्न त्यति अप्ठेरो नभएको ओलीले बताए ।

संख्याको हिसाबले तानतुन गरेको सरकार नभएकोले अहिलेको सरकारलाई काम गर्न सहज भएको उनले प्रष्ट पारे । संसदमा आएको निजामती सेवा ऐन संशोधन गरेर सरकार अघि बढ्ने उनले स्पष्ट पारे । संसदमा पहिला नै पेस भएको पनि अब त्यसलाई पास गर्ने बेला आएको ओलीले बताए ।