Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

पलेशालाई उद्योग वाणिज्य महासंघको नगदसहित सम्मान

ओलम्पिक काँस्य पदक विजेता पलेशा गोवर्धनलाई नेपाल उद्योग वाणिज्य महासंघले तीन लाख नगदसहित सम्मान गरेको छ । शुक्रबार महासंघले आफ्नै कार्यालयमा बोलाएर गोवर्धनलाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो । 

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताए । पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने उनले उल्लेख गरे ।

सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताइन् । सबैले साथ र सहयोग गरे अर्को ओलम्पिकमा पनि आफूले पदक ल्याउने उनको भनाइ छ । उनले भनिन्, ‘ओलम्पिकको पहिलो मेडल हो । यसमा म पनि धेरै खुशी छ । मैले मेरो एउटा उद्देश्य पूरा गरेको छु जस्तो लागेको छ । सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु भन्ने आशावादी छु ।’