Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

परीक्षामा मानवीय त्रुटि भनेर छुट दिन मिल्दैन

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’ को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले उक्त आयोगले प्रवेश परीक्षामा मानवीय त्रुटि भएको भनिए पनि सत्य बुझन जरुरी भएको बताइन् ।

 ‘चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षा त्रुटिपूर्ण भयो भनिएको छ’, सांसद कार्कीले भनिन्, ‘परीक्षामा मानवीय त्रुटि होइन, दानवीय त्रुटि भएको छ, यस्ता त्रुटि गर्नेलाई कडा कानुनी सजाय दिनुपर्छ ।’ उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको ध्यानाकर्षण गराइन् । 

नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उच्च शिक्षालाई सुधार्नुपर्नेमा जोड दिए । उनले चिकित्सा शिक्षा आयोगले अङ्कभारको आधारमा विद्यार्थीको नजिता सार्वजनिक गर्नुपर्नेमा रोल नम्बरको आधारमा गरिएकोप्रति सम्बन्धित निकायको ध्यानार्षण गराए ।

‘कसरी रोल नम्बरका आधारमा आयो, मानवीय गल्ती भनेर आइरहेको छ, विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो’, उनले भने, ‘झण्डै तीन हजार विद्यार्थीलाई मेडिकल साईन्सको विषयमा यस्तो गञ्जागोल बनाउन हुँदैन, मेरिटका आधारमा पढ्न पाउने व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको नजिता प्रकाशन गरेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । ‘परीक्षामा भएको प्राविधिक त्रुटि भनेको के हो रु त्यो भविष्यमा दोहोरिन नदिने के गर्नुपर्छ’, उनले भनिन्, ‘सबैले परीक्षा दिन काठमाडौँ आउने व्यवस्थाको पनि अन्त्य गर्नुपर्छ, परीक्षामा प्राविधिक त्रुटि भएको भनिएको छ, त्यो के भएको हो रु भावी दिनमा नदोहोरिन के गर्नुपर्छ रु’   

आयोगले यही भदौ १ गते परीक्षा लिएर १४ गते निकालेको नतिजाप्रति सांसदहरुले सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दा योग्यता क्रमको आधारमा गर्नुपर्नेमा त्यसो नगरिनु गम्भीर त्रुटि भएको सांसदहरुको भनाइ छ ।