गण्डकी प्रदेश सरकारका वनमन्त्री दीपक मनाङेले दिएको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
आज आफ्नो मन्त्रालय परिवर्तन भएसँगै असन्तुष्टि जनाउँँदै राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए ।
मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन् । स्वतन्त्र सांसद मनाङेलाई सोमबार भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीबाट हटाइएको थियो । नेकपा एमाले सांसद प्रकाशबहादुर केसीलाई मन्त्री बनाउँदा आफूलाई वन मन्त्रालय पुर्याइएपछि उनी असन्तुष्ट बनेका हुन् ।