नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षबाटै नेपालको अर्थतन्त्र नयाँ किसिमबाट चलायमान हुने दाबी गरेका छन् । आज आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबल उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको दावी गरे । उनले केही सूचकहरुले पनि अर्थतन्त्र चलायमान बनाउने आधारशिला खडा भएको प्रमाणित गरेको बताए । भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको उनले बताए ।
उनले राजश्व संकलनमा पनि विगतका दुई वर्षको भन्दा राम्रो राजश्व उठेको बताए । कर्जा प्रवाहको स्थिति साउनमा लगभग ३ अर्ब र भदौको आजसम्म थप १२ अर्ब कर्जा प्रवाह भइसकेको उनले बताए । उनले भने, ‘भोलिको दिनमा हाम्रो आर्थिक क्रियाकलाप अघि बढाउनलाई, निजी क्षेत्रको मनोबललाई उच्च राख्नलाई प्रशस्त मात्रामा आधारशिला खडा भएको छ । केही सूचकहरु हामीले स्पष्ट रुपमा पाइसकेका छौँ। भर्खरै सञ्चालन भइरहेको सवारीसाधन केन्द्रित प्रदर्शनीहरु, शेयर बजारहरु र अन्य स्थितिले पनि केही न केही चलायमान भइरहेको प्रमाणित भएको छ ।’
उनले भने, ‘पहिलाको वर्षहरु भन्दा यस वर्ष साउनमै खर्च राम्रो भएको देख्छौं । राजश्व संकलनमा अगाडिका दुई वर्ष निकै समस्या थियो । यो साउनमा निकै पोजेटिभ हामी देख्छौं । कर्जा प्रवाहको स्थिति हेर्दा साउनमा लगभग ३ अर्ब मात्रै कर्जा प्रवाह भए पनि भदौको आजसम्मा थप १२ अर्ब कर्जा प्रवाह भइसकेको छ । यही अवस्था अघि बढ्दाखेरी हामी आशा गर्नसक्छौँ, यही आर्थिक वर्षबाट नयाँ किसिमबाट अर्थतन्त्र चलायमान हुनेछ । राज्य पनि त्यसैगरी नीतिगत रिफर्ममा लागिरहेको छ । जे जस्ता सुधारहरु गर्नुपर्ने हो, कानूनी रिफर्ममा लागिरहेको छ । अफ्ठ्यारा भएका कुराहरुलाई के कसरी हुन्छ, सुधार गर्नुपर्छ ।’ । गभर्नर अधिकारीले अर्थतन्त्रका बाह्य क्षेत्र सबल रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको बताएका छन् ।
उनले भने, ‘अर्थतन्त्रका बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति शायद इतिहासमै तल छौं । त्यसैगरी बाह्य क्षेत्रसँगसँगै बैंकिङ सिस्टममा प्रशस्तै प्रचुर मात्रामा तरलता छ । तरलता, हालको अवस्था, सवलतालाई हेरेर नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमा धेरै नै लचक ल्याएको छ ।’ उनले तरलताकै आधारमा बैंकिङ प्रणालीको ब्याजदरहरु तल रहेकोे बताए । उनले भोलिको दिनमा आर्थिक क्रियाकलापहरुलाई अगाडि बढाउनको लागि र निजी क्षेत्रको मनोबललाई उच्च राख्नको लागि प्रशस्त मात्रामा आधारशिला खडा भएको बताएका छन् ।