Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मार्क्सवादी ज्ञान केन्द्रको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः तिमिल्सिना

मार्क्सवादी ज्ञान केन्द्रको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । आज सम्पन्न अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा इन्द्रराज भट्टराई, उपाध्यक्षमा रेशमकुमार अधिकारी, महासचिवमा हुमनाथ न्यौपाने, उपमहासचिवमा दुस्यान्त भट्टराई, सचिवमा सागर अधिकारी र कोषाध्यक्षमा राधिका ओझालाई चयन भएका छन्।

सदस्यमा भीमप्रसाद सुवेदी, भूपनारायण यादव, त्रिविक्रम ज्ञवाली, सीता कडरिया, टीका ओली, डा. शङ्कर खतिवडा, आस्था घिमिरे, राजुराम सार्की भुल, मीनादेवी नेपाल र लक्ष्मण गुरुङ चयन भएका छन्।

यस्तै, सभाले ज्ञान केन्द्रका विभाग प्रमुख र प्रदेश अध्यक्षसमेत चयन गरेको छ । अध्यक्ष तिमिल्सिनाले ज्ञान केन्द्रले वैचारिक कामलाई थप सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए । नवनिर्वाचित कार्यसमितिले मार्क्सवादी विचार निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने, केन्द्रप्रतिको अपेक्षा तथा भरोसालाई जीवन्त राख्ने क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेतृ एवं पूर्व मन्त्री रेखा शर्माले कम्युनिष्ट पार्टीले नयाँ पुस्तालाई गहिरो ढंगले राजनीतिकरण गर्न नसकेको, मार्क्सवादी दर्शन तथा वैचारिक रूपमा उभ्याउन नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्रयास निकै सराहनीय रहेको बताए।

केन्द्रले मार्क्सवादी विचार, राजनीतिक संस्कार, संस्कृतिप्रति आस्थावान् व्यक्तिलाई जोडेर अगाडि बढिरहेकामा उनले खुसी व्यक्त गरे। “मार्क्सवादको लक्ष्य हासिल गर्न विचार निर्माण आवश्यक छ । मानिसलाई सचेत बनाउनुपर्ने छ । कम्युनिष्ट आदर्श र दर्शन अनुकूल आचरण तथा व्यवहारका विषयमा सचेत गराउनुपर्ने छ”, उनले भने “विज्ञान प्रविधिको विकास र बदलिँदो परिस्थितिअनुसार मार्क्सवाद कस्तो हुने र कसरी ग्रहण गर्ने भन्ने विषयमा एउटा निष्कर्ष निकाल्नुपर्ने छ । यसमा पनि यहाँहरूको भूमिका रहोस् ।”

भेलामा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले मार्क्सवाद निरन्तर विकास हुँदै गएको सामाजिक विज्ञान भएकाले मार्क्सवादी दर्शनबारे सिकाइको प्रक्रियालाई अझ परिपक्व बनाएर लैजानुपर्नेमा जोड दिए।