Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आउँदो एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौंः प्रधानमन्त्री

‘५० प्रतिशत हाराहारी मात्रै एसइई उत्तीर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय’

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन् ।

धुलिखेलस्थित काठमाडौँ विश्व विद्यालयको २९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराए ।

‘५० प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु । बढी नम्बर दिएर नभई  विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’ उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताका साथ अघि बढ्ने पनि स्पष्ट गरे । 

उनले आफूूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरुको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे । 

RKP-Kavre-PMOli_KU_Kavre1.jpg

उनले भने, ‘अब तपाईहरु संसारका जुनुसुकै कुुनामा गएर पनि आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुुहुन्छ । तपाईहरुका लागि संसार खुल्ला छ । तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नु भएको छ, त्यसलाई सही सदुुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् ।’ 

समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्ण पदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्ण पदक प्रदान गरे ।

स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्ण पदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्ण पदक र  स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्ण पदक प्रदान गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए ।