Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

अब प्रदेशका ३५ क्रकेट खेलाडीलाई पनि तलव

नेपाल क्रिकेट संघ (क्यान) ले सातै प्रदेशका पाँच–पाँच खेलाडीहरूलाई मासिक पारिश्रमिक दिने निर्णय गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए । क्यानले ७ वटै प्रदेशका क्रिकेट संघहरूलाई २ जना महिला र ३ जना पुरुष गरी ५ जना खेलाडीलाई पारिश्रमिक दिने निर्णय गरेको हो । सो निर्णय आगामी सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुने पनि बताएको छ ।

क्यानले अब सातै प्रदेश समितिमार्फत ३५ जना खेलाडीलाई सम्झौता गर्ने भएको छ । क्यानको बिहीबार बसेको बैठकले प्रदेशबाट खेलाडीलाई सम्झौतामा ल्याउने निर्णय गरेको हो । उनले भने, ‘यो निकै महत्वपूर्ण र ऐतिहासिक निर्णय हो । अब प्रदेशले नै पाँच खेलाडीसँग सम्झौता गर्नेछन् ।’ अब खेलाडीले जनही १५ हजार पारिश्रमिक पाउने भएका छन् । 

क्यानले क्रिकेटलाई प्रदेशगत रूपमा विस्तार गर्न अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ । यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको छ भने यू १९ महिला विश्वकप क्रिकेट क्वालिफायरको तयारीका लागि दाङमा बन्द प्रशिक्षण गरिने भएको छ । यस्तै एलिटकप क्रिकेट प्रतियोगिता मधेशको वीरगञ्जमा आयोजना गरिने बताएको छ । 

क्यानले लेखबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय छनोट समितिसमेत बताएको छ । समितिको सदस्यमा युनिल श्रेष्ठ र मुतुजा हवारी रहेका छन् । यही छनोट समितिले नेपाली राष्ट्रिय टिम छनोट गर्नेछ । यस्तै क्यानले म्याच फिक्सिङको आरोपमा प्रतिबन्ध लागेका अलराउन्डर आदिल अन्सारीबारे आईसीसीको निर्णयअनुसार गर्ने पनि सहमति गरेको छ ।

l(2).jpg