Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्व सभामुख सापकोटाविरुद्धको अपहरणपछि हत्या मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको अपहरणपछि हत्या मुद्दामा आज बुधबार सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । संवैधानिक इजलासले बुधबार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको पेसी रहेको छ । यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि फैसलाको मिति सरेको थियो ।     

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि  निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि  फैसला हुन नसकेको हो । न्यायाधीश  राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका थिए । 

गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो । २०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।

 सर्वोच्चले फैसला गर्दै अनुसन्धान अघि बढाउनु र सापकोटालाई पक्राउ गर्न आदेश दिनुपर्ने माग निवेदकले उठाएका छन् भने प्रतिवादीहरूले यो घटना द्वन्द्वकालीन भएकाले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले हेर्नुपर्ने माग गरेका थिए । इजलासले दुवैको तर्क सुनेर फैसला सुनाउन लागेको हो ।

संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।