Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मुसहर बालबालिकालाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहको आग्रह

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी बालबालिकालाई विद्यालय पठाउन आग्रह गरे । 
 
प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार वैदेही स्कुल टोलको मुसहर बस्ती पुगे । उनले मुसहर बस्तीका महिला, बालबालिका, युवा तथा वृद्धसँग त्यहाँका समस्याबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उनले बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी लिए । 
 
मुख्यमन्त्री सिंहले सङ्घीयताका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सम्भव भएको उल्लेख गर्दै वर्तमान व्यवस्थालाई संस्थागत गर्ने जिम्मेवारी सबै समुदायको भएको बताए । बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने अधिकांश महिला कृषिसम्बद्ध श्रममा आबद्ध छन् । 
 
आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेको महिलाहरुले मुख्यमन्त्री सिंहसँग गुनासो गरेका थिए । मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि समुदाय स्तरबाटै पहल हुनुपर्नेमा जोड दिए। उनले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताए । उनले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गरेका थिए । 
 
“बालकालिकालाई घाँसदाउरा र मेलापात गराउने, बस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, विद्यालय  पठाउनुस्”, उनले भने, “शिक्षामा लगानी भयो भने समुदायको मुहार फेरिन्छ ।”