‘विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु’
युट्युब च्यानल ‘हेर्ने कथा’ मा ‘हराएका वर्षहरु’ शीर्षकमा प्रकाश तामाङ (काले मोक्तान) को जीवन कथा सार्वजनिक भएको छ । कथा निकै दुःखदायी छ । अहिले सामाजिक सञ्जालहरुमा प्रकाशको जीवन कथाका विषयमा विभिन्न कोणहरुबाट टीकाटिप्पणीहरु भइरहेका छन् । ‘हेर्ने कथा’ अनुसार प्रकाशले घर छाडेर हराएको ३४ वर्ष भएको बताइएको छ ।
यो भिडियो हेरेपछि प्रकाशको जीवन भोगाइको कथाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत छोएको छ । उनले प्रकाश तामाङ र विद्या चापागाईंलाई भेटेर यस विषयमा कुरा गर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रकाश तामाङ (काले मोक्तान) को परिवारसँग मिलनको दृश्यले आँशु आयो । सोचें–यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु । विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु । विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्नेछु । यस मर्मस्पर्शी कथालाई दृश्यमा ल्याई दिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !!’