नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा पनि चुनाव हुने भएको छ । एक पद रहेको महिला उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष जयन्ती राई र निवर्तमान सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू दुवैले मनोनयन दर्ता गरिसकेका छन् । झाँक्रीलाई महासचिव घनश्याम भुसालको समर्थन छ भने जयन्तीलाई माधव नेपालको समर्थन छ ।
जयन्ती हाल एकीकृत समाजवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य छिन् । उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति सभापति समेत हुन् । रामकुमारी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट पराजित भएकी थिइन् । एमालेबाट छुट्टिएपछि एकीकृत समाजवादी गठन गर्न अध्यक्ष माधवकुमार नेपाललाई डोहोर्याउने युवा नेतृ रामकुमारी हक्की स्वभावकी मानिन्छिन् ।
रामकुमारीले कार्यकारी भूमिकामा प्रतिस्पर्धा गर्ने अनुमान भइरहँदा उनले महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी छन् । समाजवादीको २१ सदस्यीय पदाधिकारीमा १८ जनाको लागि आज निर्वाचन हुन लागेको हो । अध्यक्ष, सम्मानीत नेता र महासचिव भने यसअघि नै घोषणा भइसकेको छ ।