Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

कुलमानलाई नभई प्रधानमन्त्री ओलीलाई प्रष्टीकरण सोध्नुपर्छ: प्रचण्ड

'सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गलत बाटोतर्फ अग्रसर रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलको नेताको तर्फबाट सम्बोधन गर्दै सरकारलाई खबरदारी गर्ने बताए । 

उनले विपक्षी दलको नेताको रूपमा आफूले पहिले नै रोष्ट्रम प्रयोग गर्न सक्ने भए पनि ‘हनिमुन पिरियड’सम्म नबोल्ने सोचेको बताए । “म सरकारलाई हनिमुन पिरियडसम्म शंकाको सुविधा दिने पक्षमा थिएँ । सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्नेमा थिएँ,” उनले भने । प्रचण्डले सरकारसँग इमान नरहेको बताए । “सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर उन्मुख छ । जनताभन्दा स्वार्थ समूहको सेवामा अग्रसर छ,” उनले भने । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नभई प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रष्टीकरण सोध्नुपर्ने बताएका छन् । उनले भने, “प्राधिकरणको रक्षा तपाईंको जिम्मेवारी हो कि होइन ? माफियाको पक्षमा लाग्दा संकोच लाग्दैन ? यसमा प्राधिकरणको नेतृत्वलाई होइन प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्न चाहन्छु ।” उनले यही हो दुई तिहाइको नियत र नियती ? भन्दै प्रश्न गरेका छन् ।

कतैबाट नभएर प्रधानमन्त्रीले फेसबुकबाट प्रचार थालेको बताए । “कतैबाट नभएपछि प्रधानमन्त्री फेसबुकबाट प्रकट हुनुभएको छ,” उनले भने, “२२ अर्बको कुरा नोट गरियोस् । प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव ।”