प्रतिनिधिसभाको बैठकमा आज मंगलबार मन्त्रीहरूले सांसदको प्रश्नको जवाफ दिने कार्यसूची छ ।दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ ।
बैठकको शुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी गराउने कार्यसूची छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१’ प्रस्ताव प्रस्तुत गर्नेछन् । सभामुख देवराज घिमिरेले पूर्व सांसद तथा राज्यमन्त्री रामचन्द्र राय यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।