Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

प्रहरीलाई प्रधानमन्त्रीले भने– ‘ढुक्कले काम गर्नुस्, सरकारले यो मान्छे समाउ र फसाउ भन्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् । आज सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको कामकारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए ।

उनले भने, ‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिँदैन । अहिलेको सरकारले कसैलाई फसाऔँ भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं । औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस् ।’

उनले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिन नहुने भन्दै अब पुरानो शैलीमा अपराध नियन्त्रण गर्न नसकिने बताए । उनले भने, ‘हामीले अपराध हुनै नदिने कुरालाई छानबिन अनुसन्धानभन्दा कम महत्व दिनुहुँदैन । म तपाईहरुले सुझाव दिन चाहन्छु । पुरानो घुमुवाको तरिकाबाट कुनै पनि उपलब्धि हुनेवाला छैन । पुरानो घुमुवाको तरिकाबाट होइन यसलाई नयाँ तरिकाले विकास गर्नुपर्छ । अब स्रोत, साधनले सम्पन्न बनाएर तपाईहरुको अनुसन्धानभन्दा अगाडिको अनुसन्धान गर्नुपर्छ । अपराध कसैले गराउन खोजेको छ भने पहिल्यै पत्ता लगाउने र नियन्त्रण गर्ने अनुसन्धान धेरै महत्वपूर्ण छ । यसो भयो भने अपराधिको मानसिकता फैलिँदैन् ।’

सो कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मुलुकमा स्थिरता र शान्ति सुरक्षाका लागि ठुला दलको सहभागितामा सरकार बनेको र यसले काम गरौँ भन्ने आत्मबलवृद्धि भएको बताए । उनले सरकार गठनको एक महिनामै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु उपलब्धि भएको बताए ।

भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा। युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो ।