Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

केही मान्छे मन्त्री बनिहालौं भनेर सरकार बनेको होइनः गृहमन्त्री लेखक

‘कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको छ’

गृहमन्त्री रमेश लेखकले केही मान्छे मन्त्री बन्न मात्रै सरकार नबनेको बताएका छन् । आज सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले वर्तमान सरकार केही मान्छे मन्त्री बनिहाला भनेर नबनेको बताएका हुन् । 

गृहमन्त्री लेखकले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रष्ट पारे । ‘दुई ठूला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौं भनेर बनेको होइन,’ उनले भने, ‘२०७९ चुनावपछि सरकार बनाउने र भत्काउनमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी मिल्यौं ।’

गृहमन्त्री लेखकले कांग्रेस–एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको पनि बताएका छन् । ‘यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो,’ उनले भने । गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन पनि दिए । जनताको मुद्दा बोक्दा प्रहरीहरूको मुद्दा पनि सँगै आउने उनको भनाइ छ ।

‘यसको उदाहरण १८ वर्षसम्म अल्झिएको संक्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौं । छलफल हामीबिच नै भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमति पुग्न सक्यौं । उर्जाशिल प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरि छाड्ने छौँ,’ उनले भने । ‘प्रहरीलाई आत्मविश्वासका साथ काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नु पर्‍यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दा पनि आइहाल्छ,’ उनले भने । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको उनले बताए ।