Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन्ः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उहाँले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन्। “हाम्रो पूर्वीय वैदिक सभ्यतामा समाजलाई सभ्य र सुसंस्कृत बनाइ समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाज परापूर्वकालदेखि प्रचलनमा रही आएका छन्, तीमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हुन्”, सन्देशमा भनिएको छ,“बहुरङ्गी र विविधतायुक्त संस्कृति भएको नेपालमा अनेकन पर्व–त्योहार मनाइन्छ, यी सबै हाम्रो समाजमा धार्मिक एवं आध्यात्मिक चिन्तन तथा प्रेरणा र जागरणको दृष्टिलाई प्रादुर्भाव गर्ने ज्यावल हुन्, जसले हामीलाई पारस्परिक रूपमा जोड्ने मृदुल माध्यमको काम पनि गर्छन् ।” 

श्रीकृष्ण जन्माष्टमी पर्व प्रत्येक वर्षको भाद्र कृष्णपक्षको अष्टमी तिथिमा भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा धुमधामका साथ मनाइन्छ । यस पर्वको धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक महत्व रही आएको छ । भगवान् श्रीकृष्णले सिङ्गो मानवताको भलाइका लागि अपनाएका नवआचार र विचारलाई अवलम्बन गर्न अभिप्रेरित गर्दछ । यस अवसरमा श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको गीता उपदेशले धर्म, कर्म र मोक्षको मार्ग देखाउँछ । गीता उपदेशमा श्रीकृष्णले राजयोग, कर्मयोग, भक्तियोग र ज्ञानयोग जस्ता विभिन्न योगमार्गहरूको महत्व र अभ्यासबारे विस्तृत वर्णन गरेका छन् । 

यसले जीवनका विभिन्न पक्षमा मार्गदर्शन गर्नुका साथै आत्मज्ञानको मार्ग पनि देखाउँछ । श्रीकृष्ण जन्माष्टमी पर्वमा सामूहिक रूपमा नृत्य, सङ्गीत, झाँकी, नाटक र कृष्णलीलामार्फत कृष्ण र राधाको प्रेमका कथा प्रस्तुत गर्ने परम्परा छ । श्रीकृष्णको जीवन र शिक्षालाई सम्झने अवसर प्राप्त हुने भएकाले मानिसलाई आफ्नो आध्यात्मिक यात्रामा अघि बढ्न उत्प्रेरित गर्दछ । 

यस्तै, नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भूभागमा परापूर्वकालदेखि हर्षोल्लासका साथ गौरा पर्व पनि मनाइदै आइएको छ । यस पर्वका अवसरमा पाँच किसिमका अन्नको सामूहिक स्वरुप ‘बिरुडा’ प्रसादका रूपमा बाँड्ने चलन छ । पुरुष र महिला छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । 

मूल रुपमा गौरी महेश्वरको उपासना गरिने गौरा पर्व हिन्दू नारीद्वारा आफ्नो सुसौभाग्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र शुद्धताका लागि गरिने सुसंस्कृत र संस्कारजन्य अनुष्ठान हो ।