Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

दशगजा क्षेत्रमा भारतीयले धमाधम बाटो खनेपछि...

झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।

गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । ‘दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैं’, उनले भने, ‘मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।’ यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनले बताए ।

हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उनले बताए । ‘हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं’, उनले भने, ‘तर, हामीलाई दिइएको छैन ।’ कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले बताए । बाटो १६ फिट चौडाइको रहेको छ । यसअघि पनि सो क्षेत्रमा बाटो खन्ने विषयमा विवाद उत्पन्न भएको थियो । स्थानीयले अवरोध गरेपछि अहिले बाटो खन्ने काम रोकिएको छ । काम रोकिए पनि खनेको बाटो भने नपुरेको लिम्बूले बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उनले दिए । दुई देशबीचको सीमानाको १० गज खाली राख्नु पर्ने अन्तर्राष्ट्रिय नियम छ ।