Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

ड्युटी गर्दागर्दै प्रहरी सहायक हवल्दारको मृत्यु

अछाममा ड्युटी गर्दागर्दै एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला  बेहोस भएका प्रहरी सहायक हवल्दार टंकबहादुर बोहराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत मंगलसेन–८ ओलीगाउँका बोहरा शनिबार दिउँसो नागरिक सहायता कक्षामा ड्युटी गरिरहेका वेला बेहोस भएर ढलेका थिए । अचानक बेहोस भएर भुइँमा लडेका उनलाई तत्काल जिल्ला अस्पताल मंगलसेन लगेर इमरजेन्सी वार्डमा भर्ना गरिएको थियो । अस्पताल पुर्‍याए लगत्तै ३६ वर्षीय बोहरालाई चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।  

बोहराको मृत्युको कारण भने भिसेराको रिपोर्ट आएपछि मात्र थाहा हुने जिल्ला अस्पताल अछामका डा। अतुल भारद्वाजले जानकारी दिए  । त्यसका लागि पोस्टमार्टम गरी भिसेरा संकलन गरेर परीक्षणका लागि पठाइएको उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङको अपराध अनुसन्धान समूहमा दरबन्दी रहेका बोहरा जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत रहेका थिए ।