थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ । थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो ।
आउँदो सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो । थाइल्याण्डमा हुने भनिएको बिमस्टेक बैठक स्थगित गरिएको मौखिक जानकारी बिमस्टेकमा आवद्ध राष्ट्रहरुलाई आएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । थाइल्याण्डले आन्तरिक राजनीतिक कारण देखाउँदै नेपाललाई पनि बिमस्टेक शिखर सम्मेलन स्थगित गरेको जानकारी दिएको हो । यद्यपी लिखित जानकारी आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमार सदस्य राष्ट्र छन् । परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गरिरहेको थियो । थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरेपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।
बंगलादेशमा पनि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा मोहम्मत युनुस नियुक्त भएका छन् । सम्मेलनमा सबै राष्ट्रको सरकार प्रमुख जाने तयारी थियो । दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो ।