Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सुनकोशी दुर्घटनाः २५ फिट गहिराइबाट निकालियो गाडी, तीन यात्रु अझै भेटिएनन्

सुनकोशी नदीमा हाइलेक्स जीप खस्दा बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात रहेको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडक खण्डबाट हिजो शनिबार साँझपख सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जानकारी दिएको छ । 

गोलन्जोर गाउँपालिका–१ कुडुलेबाट सुनकोशी नदीमा निजी हाइलेक्स जीप खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानैदेखि सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । खोटाङ हलेसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको  इसुजु  हाइलेक्स गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुँडुले नजिकबाट सुनकोशी नदीमा शनिबार साँझ खस्दा तीन यात्रु बेपत्ता छन् । नदीमा बेपत्ता भएको गाडी गए राति २ बजे नदीबाट निकालिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रको गोताखोर टोलीले नदीको झण्डै २५ फिट तल डुबेको अवस्थामा गाडी फेला पारेको हो ।

चार जना सवार रहेको कारबाट हाम फालेका भक्तपुर जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारपपछि डिस्चार्ज भइसकेको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रमुख प्रहरी निरीक्षक एल्जिना राईले जानकारी दिइन् । घाइते अवस्थामा भेटिएका  कक्षपतीले नै घटनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सुनकोशी नदीमा बेपत्ता हुनेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका जगतीका अविन बके सोही ठाउँका प्रनित सैजु र बलराम घटुवा छन् । दुर्घटनास्थल सुनकोशी नदीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरीका गोताखोरसहित नेपाल प्रहरी, नेपाली सेना लगायतले बिहानैदेखि  खोजी गरिरहेको भएपनी हालसम्म बेपत्ताहरू नभेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार नदी धमिलो भएकाले खोजी तथा उद्धारमा समस्या भएको हो । गोताखोर टोलीले नदिमा खसेको गाडी भेटेर नदी किनारमा निकालेको छ भने गाडीमा सवार यात्रुको निरन्तर खोजी भइरहेको छ ।