२५ शव वायु सेनाको जहाजबाट, दुई जनाको स्थलमार्ग हुँदै भारत लगियो
शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाइएको हो । अन्य दुई शव भने स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव लिन भारतीय सेनाको विशेष विमान शनिबार दिउँसो चितवन आएको हो । बसका चालक र सहचालकको शव स्थलमार्ग हुँदै परिवारले गोरखपुर लान चाहेपछि उतै पठाइएको चितवन प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस दुर्घटनामा मृत्यु भएकाको भरतपुर अस्पतालमा शव परीक्षण गरिएको थियो । पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।