‘सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू १४ वर्ष जेल बसेर यहाँसम्म आइपुगेको बताएका छन् । आज शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभ कार्यक्रममा एक युवाले प्रधानमन्त्री बन्नेसम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै उनले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको बताएका हुन् ।
उनले भने, ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नु परेको थियो, जेलमा बस्नु परेको थियो । गोलघरमा बस्नु परेको थियो, नेल हतकडी लगाउनु परेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ जान्न पनि गाह्रो होला ।’
‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ । १८ वर्षको उमेरमा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो । ५३ सालका लागि तोकेर मलाई जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्ष जेल बसेपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो । कानुनी राज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्वक थुनिएको थिएँ महाराजको माफीले छुटेको होइन, कसैले माफी दिएको होइन । यस्तो धेरै भोगेको छु जिन्दगीमा ।’
उनले विदेश जाने प्रतिनिधिमण्डलमा महिला अनिवार्य हुनुपर्ने नियम अहिले बनाएको बताएका छन् । ‘अहिले मैले एउटा रुल लगाएको छु कि पुरुष मात्रैको डेलिगेसन (एक जना मात्रै बोलाएको छ भने बेग्लै कुरा) विदेश जान अथवा कतै डेलिगेसन भएर जान मिल्दैन,’ ओलीले भने, ‘डेलिगेसनमा महिला सामेल भएकै हुनुपर्छ । त्यो रुल (नियम) अहिले मैले सरकारको बनाएको छु ।’
उनले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र मुख्यसचिव आफ्नै कार्यकालमा महिला बनाएको दाबी समेत गरे । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताए । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरि प्रधानमन्त्री बनेको बताए । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोड्ने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले भने, ‘स्वदेश फर्कने नेपालीहरूका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरूलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ । म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनु पर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु ।’ त्यस अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरूका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिए ।