Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदीय छानबिन समितिमा रविको बयानः सबै कुरा जीबी राईलाई नै थाहा होला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारीमा भएको आर्थिक अनियमितताको जिम्मा जीबी राईले लिनुपर्ने बताएका छन् ।

सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रवार लिएको बयानमा लामिछानेले यस्तो बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछानेले आर्थिकसम्बन्धी सबै जिम्मा गोरखा मिडिया नेटवर्कका सञ्चालक राईले लिने गरेको बताउँदै ‘सहकारी ठगीबारेको सबै कुरा राईलाई नै थाहा होला’ भनेका थिए ।

समितिले रास्वपा सभापति लामिछानेसँग बयान लिइरहेको छ । संसद् सचिवालय सिंहदरबारमा आज शुक्रवार अपरान्हबाट समितिले उनीसँग बयान लिइरहेको हो । गोरखा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेसँग समितिले बयान लिएको हो । गोरखा मिडियाकै पूर्वसञ्चालक छविलाल जोशी बञ्जाडेसँग समितिले शुक्रवार झण्डै पाँच घण्टा लामो बयान लिएको थियो । 

लामिछानेसँग सोध्नका लागि समितिले तीन दर्जन लिखित प्रश्नावली तयार गरेको छ । बयान अझै दुई घण्टासम्म चल्ने बताइएको छ । अधिकांश प्रश्न व्यक्तिको नाममा सहकारीबाट ऋण लिएर टेलिभिजनमा लगानी गर्न मिल्छ? भनेर सोधिएको छ ।  लामिछानेले कुनै पनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनै पनि कागजात समावेश नभएको बयान दिएका छन् । 

उनले बुटवलको सुप्रिम, चितवनको सहारा, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट आएको कुनैपनि ऋण र अन्य रकममा आफ्नो संलग्नता नभएको बताएका हुन् । समितिका सभापति सूर्य थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन् । तीमध्ये झण्डै आधा प्रश्न सोधिएको उनले जानकारी दिएका छन् । बयानका लागि सभापति लामिछाने केही फाइल बोकेर संसदीय समितिको बैठकमा प्रवेश गरेका थिए ।