Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

संसदीय समितिमा आज बयान दिँदै रवि लामिछाने

सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग आज शुक्रबार बयान लिने भएको छ । 

लामिछानेलाई समितिले दिउँसो २ बजे बयानका लागि बोलाइएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क कम्पनीका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिले जनाएको छ । सूर्यदर्शन, सानोपाइलालगायत सहकारी संस्थामा सर्वसाधारणले राखेको रकम गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको सन्दर्भमा सोधपुछका लागि समितिले लामिछानेलाई बोलाएको हो ।

समितिले आरोपितसँग बयान लिने क्रम अन्तिम चरणमा पुर्‍याएको छ । सञ्चार क्षेत्रमा हुँदा रवि लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लागेको छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर  गरेको आरोप लागेको छ ।

गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । उनले कम्पनीमा १५ प्रतिशत स्वेट शेयर लिएको बताएका छन् । समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर  बयान लिइसकेको छ । विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनको हस्ताक्षर चल्ने गरेको बयानमा उल्लेख गरेका थिए ।  चाँडै बयान सकेर प्रतिवेदन तयार पार्ने समितिको तयारी छ ।