Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

पृथ्वी राजमार्ग २४ घण्टामा बल्ल एकतर्फी खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो । 

सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड०को सहयोगमा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उनले बताए । 

निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिरोको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।