परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी उनले सोमबार बेलुकी नयाँ दिल्लीमा मोदीसँग भेटवार्ता गरेकी हुन् ।
उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गर्दै करिब आधा घण्टा कुराकानी भएको थियो । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् ।

उक्त अवसरमा ‘द्विपक्षीय सहकार्यलाई बलियो बनाउने विषयमा छलफल’ भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उक्त शिष्टाचार भेटमा दिल्लीस्थित भारतका लागि नेपाली कार्यवाहाक राजदूत सुरेन्द्र थापा पनि उपस्थित थिए ।
उक्त शिष्टाचार भेटमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री राणासहित भारतका लागि नेपालका कार्यवाहाक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना र मिनिष्टर काउन्सिलर द्रौपदा सापकोटा थिइन् ।

भारतको तर्फबाट उक्त शिष्टाचार भेटमा भारतको तर्फबाट मोदीसहित, विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवल, विदेश सचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए ।

राणाले सोमबार दिउँसो समकक्षी विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो। भेटवार्तामा द्विपक्षीय हित, नेपाल-भारत सम्बन्धका विभिन्न पक्ष र पाटाबारे कुराकानी भएको परराष्ट्र मन्त्री राणाको भनाइ छ।