Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

राजदूतको सूचीबाट यस कारण काटियो कान्ता रिजालको नाम

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस कान्ता रिजालको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एक जना सहयोगीलाई उतै छाडेर आएको गम्भीर सिकायतपछि नाम फिर्ता भएको उच्च राजनीतिक स्रोतले जानकारी दिएको छ । उनले लगेका दुई सहयोगीमध्ये एक जना मात्र स्वदेश फर्केको स्रोत बताउँछ । उनलाई इजरायलबाट फिर्ता गर्ने बेलामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को सरकार  थियो ।

कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुई जनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिजालले पनि दुई सहयोगी इजरायल लगेकी थिइन् । तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो । कूटनीतिकमा यस्तो कार्यलाई ‘गम्भीर शिष्टाचार उल्लंघन’ मानिन्छ । रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन् । प्रचण्ड सरकारलाई हटाएर बनेको केपी शर्मा ओली सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी हुन् । मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध सिकायत रहेको खुलेको हो ।