Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अफगानिस्तानका १४ लाख महिलालाई शिक्षामा प्रतिबन्ध

तालिबान सरकारले १४ लाख अफगानी महिलालाई शिक्षामा प्रतिबन्ध लगाएको छ । बिहीवार संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले तालिबान सरकारले जानाजान महिलाहरूलाई शिक्षामा प्रतिबन्ध लगाएको बताएको हो ।

अफगानिस्तान महिलाको माध्यमिक र उच्च शिक्षामा प्रतिबन्ध लगाउने विश्वको एक मात्र देश रहेको पनि युनेस्कोले जनाएको छ । सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले आफ्नो शरिया वा इस्लामिक कानूनको उल्लङ्घन भएको भन्दै छैटौं कक्षाभन्दा माथिका महिलालाई शिक्षामा रोक लगाएको थियो । तालिवान सरकारले पुरुषको शिक्षामा भने रोक लगाएको छैन ।

तालिबान सरकारले सत्ता कब्जा गरेदेखि कम्तिमा १४ लाख केटीहरूलाई जानाजानी माध्यमिक शिक्षाको पहुँचबाट बञ्चित गरेको युनेस्कोले बताएको छ । यो संख्या सन् २०२३ को तथ्याङ्कभन्दा तीन लाखले बढी हो । ‘यदि हामीले प्रतिबन्ध लागू हुनुअघि नै शिक्षाको पहुँच नभएका महिलाहरूलाई जोड्ने हो भने अब देशमा लगभग २५ लाख महिला शिक्षाको अधिकारबाट बञ्चित छन् ।

यो तथ्याङ्कले ८० प्रतिशत विद्यालय जाने उमेरका युवतीहरूको प्रतिनिधित्व गर्दछ’, युनेस्कोले भनेको छ । तालिवानले महिला तथा बालिकामाथि लगाएको प्रतिबन्धले बाल श्रम र बाल विवाहमा वृद्धि भएको राष्ट्रसङ्घले जनाएको छ ।