Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

धितोपत्र बजारमा कीर्तिमान: ३० अर्ब बराबरको कारोबार

धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शून्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य  एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ। कुल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ  दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन्।

यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन्। नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ।