Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

स्पष्टीकरणसहित मुकुलको रविमाथि गम्भीर तीन प्रश्न

‘पार्टी जोगाउने मौका दिनुस्, मार्ग प्रशस्त गरिदिनुस्’

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकाललाई पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै सभापति रवि लामिछानेमाथि गम्भीर तीन प्रश्न गरेका छन् ।

उनले पार्टी कार्यालयमा दर्ता नगरी यसरी उल्टै स्पष्टीकरणको पत्र पठाउनु रवि लामिछानेले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमको निरङ्कुश शासन चलाइरहेको स्पष्ट भएको बताएका छन् । ‘मैले आजसम्म तपाईलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन,  ती सबै सत्यमा आधारित छन् । तपाईले ममाथि स्पष्टीकरण सोध्नु अघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नु पर्छ । तपशिलका प्रश्नहरूको जवाफ दिन अनुरोध गर्दछु’, ढकालले भनेका छन् ।

ढकालले सहकारी प्रकरणमा लामिछानेमाथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने भन्दै प्रश्न गरेका छन् । ‘सहकारी ठगी मुद्दामा तपाईँ माथि पार्टीबाट स्वतन्त्र छानबिन समिति किन गठन नहुने? तपाईले आजको दिनसम्म आफ्नो कुनै गल्ती छैन, आफूमाथि छानबिन वा अनुसन्धान पनि हुन नसक्ने जिकिर गर्दै समग्र पार्टी र आम नेपाली जनतालाई पटक पटक ढाँट्नु भएको छ । म स्वयंले पनि तपाईको ढाँटलाई सत्य मानेर बसिरहेको थिए तर असार २०, २०८१ गते न्यायाधीशहरू सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको सर्वोच्च अदालतको संयुक्त इजलासले तपाईमाथि सहकारी ठगीसम्बन्धी छानबिन हुनुपर्ने फैसला गरिसकेको छ ।’

उनले सोधेका छन्, ‘सर्वोच्च अदालतको फैसलालाई तपाई मान्ने कि नमान्ने ?  फैसला अनुसार पार्टीभित्र पनि अनुसन्धान गर्न दिने कि नदिने रु  देशमा सुशासन ल्याउनका लागि खोलिएको पार्टीको सभापतिले आफूमाथि लागेका आरोपको अनुसन्धान गर्न दिने हिम्मत राख्नुपर्छ । छानबिनका लागी तयार हुने आँट छ रु रवि लामिछाने ज्यू?’

एनको दोस्रो प्रश्न पासपोर्ट सम्बन्धी छ ।
‘तपाईले दुई वटा पासपोर्ट प्रयोग गरेको तथ्य बाहिरिइसकेको छ । आफ्नो अपराध लुकाउन कसरी राज्यका निकायलाई प्रयोग गर्नु भयो, घामझै छर्लङ्ग यो विषय निकट भविष्यमा अदालतले व्याख्या गर्ने नै छ । विद्यमान ऐन कानुन अनुसार तपाई मन्त्री त के सांसद बन्न पनि अयोग्य ठहर हुन सक्नु हुन्छ । तपाईले विगतमा गरेको अपराधका लागी पार्टी बलि चढ्नु पर्ने? आँट छ भने,  आफ्ना सबै पासपोर्टका सबै पानाहरू सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू?’, ढकालले सोधेको दोस्रो प्रश्नमा भनिएको छ ।

उनले तेस्रो प्रश्न लामिछाने गृहमन्त्री भएको बेला गरिएका कामका बारेमा सोधेका छन् ‘नीतिगत काम मात्र गरिन्छ भनेर गृहमन्त्री बन्नु भएको तपाईले गृह मन्त्रालय समाल्दा सरुवा बढुवा कुन नीतिमा रहेर गर्नु भयो, जनता र पार्टीका साथीहरूलाई स्पष्ट पार्नुहोस् । का.स.मु.मा अब्बल ठहरिएकालाई पछाडि पारेर सरुवा बढुवामा जुन चलखेल गर्नु भयो, त्यो भ्रष्ट्राचारको सङ्केत होइन ?आँट छ भने मन्त्री हुँदा आफूले गरेका प्रत्येक निर्णय पार्टीको जान्नेलाई छान्ने नीति अन्तर्गत थियो भनेर प्रमाणित गर्नुहोस्, अमेरिकामा रहेका आफ्नै हितैषीहरूको बैङ्क स्टेटमेन्ट सार्वजनिक गर्नुहोस् । आँट छ ? रवि लामिछाने ज्यू?’, ढकालको प्रश्न छ । उनले यस बाहेक पनि थुप्रै प्रश्नहरू बाँकी रहेको बताउँदै समीक्षा प्रतिवेदनमार्फत पनि कैयन प्रश्नहरू जनताले सोधेको भन्दै जवाफ दिने आँट गर्न लामिछानेलाई चुनौती दिएका छन् ।

‘आज पार्टीको छवि, मेरा कारणले नभई तपाईको कारणले धुमिल हुँदै गएको छ । नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको यो बीउ तपाईका कारणले नाश हुँदै गइरहेको छ । पार्टी जोगाउने मौका दिनुहोस् । वैकल्पिक राजनीति अघि बढाउन, मार्ग प्रशस्त गरिदिनुहोस् । पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु । तपाईले प्रत्येक पटक भाषण गरेका कुरा आज व्यवहारमा देखाइ दिनुहोस्’, ढकालले भनेका छन् ।