Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चरित्र हत्या भयो भन्दै सुनिता डंगोलले लेखिन् साइबर ब्यूरोलाई पत्र

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत फेसबुक पेज हटाएर त्यसका प्रयोगकर्तालाई कारबाही माग गरेकी छन् । उनले नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्र लेख्दै आफ्नो चरित्र हत्या भएको बताएकी हुन् ।

यसअघि त्यस्ता पेज बन्द गर्न आग्रह गरे पनि कार्यान्यवन हुन नसकेको उनले बताएकी छन् । ती पेजमा विभिन्न खाले र विवादित सामाग्री प्रकाशन भइरहेको पनि उनले जनाएकी छन् ।

‘गत जेठ १३ र असार २५ गते केही फेसबुक पेज बन्द गर्न पत्राचार गरिएको थियो । तर अहिले पनि ती फेसबुक पेजहरू प्रयोगमै रहेको पाइयो’, डंगोलको सचिवालयले भनेको छ, ‘एआई प्रविधिबाट फोटो-भिडियो एनिमेशन गरी सामाजिक सञ्जालमा हालेर चरित्रहत्यासम्मका कार्य भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरियोस् । ती भिडियो, फोटो तथा समाचार हाटाइदिन र त्यस्ता गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध छ।’
उपप्रमुख डंगोलले पनि अनधिकृत पेजहरूमार्फत महिलाको चरित्रहत्या, समाजमा विद्वेष फैलाउने जस्ता गलत गतिविधि भइरहेकाले निगरानी गरी बन्द गराउन आग्रह गरिएको बताइन् ।उनले स्वयम् आफू पनि त्यस्ता गतिविधिका कारण पीडित भएको बताएकी छन् । अवाञ्छित गतिविधिमा निगरानी गर्न, रोक लगाउन र कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको उनले जानकारी दिइन् ।