Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

चिनियाँ नाकासम्म सडक विस्तार गर्न पालिका प्रमुखको माग

मुगुमा कार्मारोङ्ग गाउँपालिका प्रमुख छिरिङ्ग क्याप्ने लामा र चिनियाँ सीमा नाका प्रमुख शुचि चिनबीच भेटवार्ता भएको छ । आज मंगलबार चीनको ह्यजिमारमा चलिरहेको हाटबजारमा सो भेटवार्ता भएको गाँउपालिकाका सूचना तथा प्रविधि अधिकृत सोबेन्द्र बहादुर मल्लले जानकारी दिए । 

मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकोले दुवै देशले सीमासम्म सडक विकास गर्नुपर्ने बताए । 

यस्तै, उनले भेटवार्तामा दुवै देशका जनतालाई सहज वातावरण सिर्जना गर्नको लागि स्थायी रुपमै नाका खोल्न नेपाल सरकारसँग पहल गर्ने भन्दै चिनियाँ सीमा नाका प्रमुखलाई पनि पहल गर्न प्रस्ताव गरेका थिए । 

सीमा नाका हेर्ने स्थानीय चिनियाँ अधिकारी शुचिले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै नेपालसँगको नाका स्थायी रुपमै खोल्न र सडकलगायत अन्य पूर्वाधार बनाउन पहल गर्ने प्रतिबद्धता गरेको पनि मल्लले जानकारी गराए ।