Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

रास्वपा सांसद ढकाल बोल्दैगर्दा माइक काटिएपछि...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा माइक काटिएपछि संसद अवरोध भएको छ । ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए ।

सांसद ढकालले आफ्नो कुरा राखेर विद्युत प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेको भन्दै विवाद शुरु भएको हो ।सभामुखले ढकाललाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर बिरोध गरेपछि लामो समय विवाद भयो । विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएपछि ढकाललाई नै बोल्ने समय भएकाले दिनुपर्ने माग गरेका थिए ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदहरुलाई सभामुखले विषय किटान गरेर मात्रै बोल्नु भन्ने आदेश मान्य नहुने बताए । उनले जनताका प्रतिनिधिहरुले जुनसुकै विषयमा पनि बोल्न पाउने बताए ।

त्यसपछिको विवादबीचपछि सभामुखले ढकाललाई नै बोल्न दिएपछि संसद सुचारु भएको छ । सभामुखले समय दिएपछि सांसद ढकालले डेडिकेटड र ट्रंक लाइन विद्युत महशुलको विषयमा ठूलो भ्रष्टाचार भएको बताए । उनले प्राधिकरणलाई उद्योगहरुमा लाइन जडान गर्न निर्देशन दिएजस्तै विद्युत वक्यौता रकम तिर्न व्यवसायीहरुलाई निर्देशन दिन आग्रह गरे ।