Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

माओवादीमा जनार्दन शर्माको प्रस्ताव: प्रचण्ड अब संरक्षक बसेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ (प्रस्तावसहित)

'पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार'

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रचण्डलाई अब संरक्षक भएर बस्न सुझाव दिएका छन् । पार्टी जारी बैठकमा उनले यस्तो प्रस्ताव गरेका छन् । शर्माले पार्टी क्षयीकरणका कारणबारे स्थायी कमिटी बैठकमा १० बूँदे कारण पेशसहितको प्रस्ताव पेश गरेका छन्‌ । २०६३ सालमा हतियार बिसाएर शान्तिप्रक्रियामा आएपछि माओवादीले जनजीविकाकै आधारभूत सवाल सम्बोधन गर्न नसकेको शर्माले बैठकमा पेश गरेको प्रस्तावमा उल्लेख छ ।

नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, “अध्यक्ष  प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।”  शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् । 

साउन २५ देखि शुरू भएको स्थायी कमिटी बैठकमा शर्माले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १४ पृष्ठको प्रस्ताव पेश गरेका हुन्‌ । शान्तिप्रक्रियामा आएपछि पार्टीका दुई कार्यभार रहेको शर्माले लेखेका छन्‌ । पहिलो कार्यभार संविधान निर्माण र शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र दोस्रो जनतन्त्र, राष्ट्रियता र जनजीविकाको मूल नारा कार्यान्वयन गर्नु रहेको शर्माको प्रस्तावमा उल्लेख छ ।

सो प्रस्तावको पृष्ठभूमिमै शर्माले जनयुद्ध, जनआन्दोलन र संविधानसभा हुँदै समावेशी, सहभागितामूलक लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको लेखेको छन्‌ । तर समाजवादउन्मुख सारतत्वको संविधानद्वारा प्रत्याभूत अधिकार र उपलब्धिहरू किन संस्थागत हुन सकेनन्‌ ? अधिकारसम्पन्न जनता आज उत्साहित र प्रफुल्लित हुनुको साटो अझ बढी हतोत्साहित र निराश किन छन्‌ भन्ने विषय प्रमुख राजनीतिक प्रश्न बनेको उल्लेख गरेका छन्‌ ।

संविधानमार्फत सहमागितामूलक समावेशी राज्य संरचना स्थापना र मौलिक अधिकारको व्यवस्थाले जनतन्त्रको सवाल सम्बोधन गरेको मान्न सकिने धारणा राखेका शर्माले अर्कातर्फ राष्ट्रियता र जनजीविकाको मुद्दा सम्वर्द्धन गर्न नसक्दा जनतन्त्रमाथि नै धावा बोल्ने परिस्थिति पैदा हुँदै गरेको दाबी गरेका छन्‌ । राष्ट्रियताका मामिलामा पनि उनले पार्टी नेतृत्व अर्थात्‌ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मााथि आर्थिक मामिलालाई लिएर तीखो सवाल उज्याएकाा छन्‌ । प्रस्तावमा उनले लेखेका छन्‌-

राष्ट्रियता कुनै पनि राष्ट्रका लागि सबैभन्दा संवेदनशील विषय हो । यसको सुदृढीकरणका लागि आर्थिक आत्मनिर्भरताको नीति चाहिन्छ । आर्थिक आन्मनिर्भरताको लागि उत्पादनमुखी अर्थतन्त्र जरुरी हुन्छ । यसो लागि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनको प्रभावकारी नीति चाहिन्छ ।…त्यसका लागि राष्ट्रपति इमान्दार, सबल र सुदृढ नेतृत्व र कूटनीति चाहिन्छ ।…तर आज सिद्धान्तहीन सहकार्य तथा हचुवा परराष्ट्र नीतिका कारण नेपालको राष्ट्रियता सुदृढ हुन सकेको छैन ।

उपमहासचिव शर्माले माओवादीले सशस्त्र संघर्षताका निकै मुखाग्र बनाएको जनजीविकाका सवाललाई लिएर पनि सवाल उठाएका छन्‌ । उनले यो जनताको आर्थिक जीवनसँग जोडिएको महत्वपूर्ण प्रश्न र गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको प्रश्न हो भनेका छन्‌ । तर, पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग र समुदायका दैनिक जीवनका समस्याहरू समाधान गर्न नसकेका कारण त्यो वर्ग र समुदाय माओवादी पार्टीबाट टाढिँदै गएको शर्माले स्वीकारेका छन्‌ ।

उनले अगाडि लेखेका छन्‌, ‘संविधानद्वारा प्रत्याभूत अधिकार र उपलब्धिहरू किन संस्थागत हुन सकेनन्‌ रु अधिकार सम्पन्न जनता आज उत्साहित र प्रफुल्लित हुनुको साटो अझ बढी हतोत्साहित र निराश किन छन्‌ भन्ने विषय आजको प्रमुख राजनीतिक प्रश्न बन्न पुगेको छ ।’ विभिन्न १० विषय सम्बोधन गर्न नसक्दा अहिले यस्तो अवस्था निम्तिएको शर्माले प्रस्तावमा लेखेका छन्‌ ।

पढ्नुहोस् जनार्दन शर्माको प्रस्ताव 'पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार'