यस्तो छ दुईदिने नेपाल भ्रमणको तालिका
भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आइपुगेका छन् । दुईदिने भ्रमणका लागि मिश्री आज (आइतबार) नेपाल आइपुगेका हुन् । नेपाल आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले स्वागत गरेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । उनी सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुईदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका उनले आजै राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवलगायतसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सचिव मिश्रीले नेपालस्थित भारतीय राजदूतावास कर्मचारीसँग छलफल गरेपछि दिउँसा २ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने छन् । राष्ट्रपतिसँगको भेटलगत्तै ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । आजै सचिव मिश्रीले उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंहलाई पनि छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
यस्तै, आज परराष्ट्र सचिव लम्सालले मिश्रीको सम्भानमा रात्रिभोजको आयोजना गर्दैछिन् । सो कार्यक्रममा अन्य नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै, भ्रमणको अन्तिम दिन सोमबार बिहान ११ः४५ बजे मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ । विदेश सचिव मिश्रीको भ्रमणबारे परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विदेश सचिवको भ्रमणले दुई देशबिचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ ।’
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि विदेश सचिवको भ्रमणले भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विषय उल्लेख छ ।