Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

पर्यटक बढेपछि शिक्षण छाडेर होटल व्यवसाय

शिक्षण पेशा छाडेर विगत २० वर्षदेखि होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले जिल्लामा पर्यटकको आगमन बढेसँगै लगानी पनि बढाएका छन् । उनले सञ्चालन गरेको होटल यहाँ ‘भिआइपी’ होटलका रूपमा परिचित भएको छ ।

सानो घरमा चार कोठाबाट व्यवसाय थालेका उनले व्यवसाय बढाएका छन् । उनको होटलमा २४ कोठा छन् भने लगानी बढेर दुई करोड पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका अन्य उद्यमीले पनि सुविधासम्पन्न होटल सञ्चालन गर्न थालेका छन् । 

बागलुङ बजारको अस्पताल रोडमा अर्को ३० कोठे होटल सञ्चालनको अन्तिम तयारीमा छ । यो यहाँको सबैभन्दा सुविधासम्पन्न होटल हुने लगानीकर्ताहरूले दाबी गरेका छन् । जिल्लामा पर्यटक आउन थालेपछि ठूला होटलको आवश्यकता परेको उद्यमी कुँवर बताउँछन् । उनले जिल्लामा तारेहोटल आवश्यक भएको बताए ।

विसं २०६५ देखि बागलुङमा होटल व्यवसाय गर्दै आएका अर्जुन चोखालले होटल व्यवसायमा चार करोड लगानी गरिसकेका छन् । कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालय जस्ता पर्यटकीय गन्तव्यका कारण यहाँ प्रशस्त मात्रामा स्वदेशी पर्यटक आउने गरेका छन् ।