Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

सावित्रीको सफलताः च्याउ खेतीबाट वर्षमै १० लाख कमाइ

पर्वतको  जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउ खेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्दै आएकी छन् ।

तीनवटा गुम्वज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ  बागलुङ, म्याग्दी र  कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन् । ‘च्याउ खेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन’, उनले भनिन् । गोब्रे च्याउ प्रतिकेजी रु पाँच सय र कन्ये रु दुई सयमा बिक्री हुँदै आएको छ । 

कच्चा पदार्थसहितका साम्रगी तयार गरेकी किसान खत्रीले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छन् । ‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सायोग गर्ने गरेकी छु’, खत्रीले भनिन् ।

श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पुर्‍याउने गरेको उनले सुनाइन् । जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए । ‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौं’, उनले भने ।