Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

तीन वर्षे कार्यकाल:

महसुल घटाउँदा पनि प्राधिकरण निरन्तर नाफामा छ: कुलमान घिसिङ

'नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन'

 नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महसुल घटाए पनि प्राधिकरण निरन्तर नाफामा रहेको बताएका छन्।

कार्यकारी निर्देशक भएको तीन वर्षमा भए गरेका उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नु नपरेको उल्लेख गरेका छन्।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको बिल नाफामा नजोडिएको प्रस्ट पारेका छन् । पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दुःख लागेको बताए । 

‘आर्थिक वर्ष ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिकरणले सुरु गरेको आफ्नो गौरवमय नाफाको इतिहास गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले  ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ।’ कुलमानले भने, ‘यस अवधिमा विद्युतको महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा बृद्धि नै भइरहेको छ। प्राधिकरणका करिब ५९ लाख ग्राहकमध्ये करिव २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा निःशुल्क गरिएको छ।’ 

सिंचाइका लागि प्रति युनिट २ रुपैयाँमा विद्युत उपलब्ध गराइएको छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको उनले बताए।

 विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजीगत लगानी गर्न सक्षम भएको उनले बताए।  ‘साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रूपैयाँभन्दा बढी लगानी गरेको छ ।’ उनले भने, ‘प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।’

 प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको उनले बताए। देशभरी रहेको जग्गाहरूको एकिन गरी करिब ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको छ भने गत वर्ष मात्र काठमाडौं उपत्यका भित्रको करिब ७२ रोपनी १२ आना जग्गाको पुर्जा प्राप्त भएको उनले उल्लेख गरेका छन्।