Jul 25 2026

Jul 25 2026 | शनिवार, श्रावण ९ गते २०८३

रुस युद्धमा ३६ नेपालीको मृत्यु, पाँच जनाको मात्र अस्तुधातु नेपाल ल्याइयो

रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

 युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की, अनितकुमार साह र गणेश श्रेष्ठको परिवारका सदस्यबाट सहमति लिई उतै दाहसंस्कार गरी अस्तुधातु नेपाल ल्याएर परिवारलाई आज सम्पर्क(हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार रुसी सेनामा भर्ती भई समस्यामा परेका नेपाली नागरिकमध्ये सम्पर्क मै नरहेका भनी खोजी र फिर्ताका लागि परिवारबाट निवेदन दिएको संख्या एक सय १८ जना रहेको छ । त्यस्तै घाइते वा अन्य कारणले फिर्ता गराईदिन अनुरोध गरिएकाको संख्या एक सय ६६ रहेको मन्त्रायलले जनाएको छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म ३६ जनाको मृत्यु प्रमाणित भइसकेको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली नागरिकमध्ये घाइते भई उपचारत रहेको जानकारी प्राप्त भएको संख्या पाँच (घाइते मध्ये एक जना नेपाल फिर्ता भइसकेको) छ । हालसम्म स्वदेश फर्किएकाको संख्या १६२, डिएनए परीक्षणका लागि अनुरोध भई आएको संख्या २२, र क्षतिपूर्तिका लागि नेपाल राजदूतावास, मस्कोबाट, कागजात माग भई आएको संख्या छ जना रहेको मन्त्रालयले जनाएको छ ।  

यसैगरी मोरङका विकाश राई, कास्कीका नेत्रबहादुर थापा, रुपन्देहीका उदयराज थारु, भोजपुरका प्रितम राई, दार्चुलाका ललित सिंह डोवाल, कैलालीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती र रुकुमका रामकुमार बुढा मगरको नेपाली राजदूतावासबाट मृत्य प्रमाणित भएर आउन बाँकी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

रुसी सेनामा भर्ती भएकामध्ये युद्धका क्रममा विवेक खत्री (वर्दिया), सिद्धार्थ ढकाल (काभ्रे), विकास राई (मोरङ), प्रतिक पुन (रोल्पा), सुजन सुवेदी (चितवन), ईश्वर लामिछाने (मकवानपुर) हालसम्म यूक्रेनी सेनाको कब्जामा छन् ।